एनएचपिसीले ८२ करोडको हकप्रद सेयर निष्कासन गर्ने, विशेष साधारणसभाले गर्यो पारित
क्यापिटल नेपाल शुक्रबार, भदौ १७, २०७९

काठमाडौं । निर्माणधिन दुई जलविद्युत आयोजनालाई लगानी जुटाउन नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) ले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीको शुक्रबार सम्पन्न विशेष साधारणसभाले ८२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । साधारणसभाले पारित गरेकाले स्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन दिने भएको छ ।
आयोगबाट स्वीकृति पाएपछि कम्पनी नेपाल धितोपत्र बोर्डमा जाने छ । बोर्डबाट स्वीकृति पाएपछि हकप्रद सेयर निष्कासन हुनेछ ।
हकप्रद सेयर निष्कासनपछि एनएचपीसीको चुक्ता पुँजी बढेर २ अर्ब ४४ करोड रुपैयाँ पुग्ने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड १७ लाख रुपैयाँ छ ।
यो पुँजी साढे १९ प्रतिशत बोनस सेयर वितरणपछिको हो । हकप्रद सेयर निष्कासनबाट प्राप्त हुने रकम निर्माणधिन १४ मेगावाटको तल्लो इर्खुवाखोला र ४.५ मेगावाटको तल्लो इन्द्रावती आयोजनामा लगानी गर्ने एनएचपीसीका अध्यक्ष कुमार पाण्डेले बताए ।
तल्लो इर्खुवाखोलाबाट २०८० साउनबाट बिजुली उत्पादनको लक्ष्य लिएको छ । यस्तै तल्लो इन्द्रावतीको पहिला बनाएको सुरुङ सफा गर्नेलगायत अन्य काम भइरहेको छ । दुई आयोजना बनेपछि एनएचपीसीको समेत गरी जडित क्षमता २६ मेगावाट पुग्नेछ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९ १७:०७