• info@nhpcl.com
  • 15172683, 15172685

थपिने विद्युत खपत नभए अर्बौं लगानी डुब्छः कुमार पाण्डे

हिमालखबर मंगलबार, १० माघ, २०७९

केही वर्षभित्रै सेयर बजारमा हाइड्रोपावरको वर्चस्व हुने छ।

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)का पूर्व उपाध्यक्ष तथा जलविद्युतविद् कुमार पाण्डेले नेपालको जलविद्युत्मा गरिएको लगानी खतरामा रहेको औंल्याएका छन्।



मार्टिन चौतारीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पाण्डेले अबको सात–आठ वर्षमा थपिने विद्युत उत्पादन खपत हुन नसक्ने हो भने ब्याङ्कको अर्बौैं लगानी डुब्ने बताएका हुन। “अबको पाँच वर्षमा बिजुली उत्पादन हिउँदका बेला नै झण्डै दश–एघार मेघावाट हुने देखिन्छ जबकि हाम्रो खपत पाँच हजार मेघावाट नाघ्ने देखिँदैन,” पाण्डेले भने, “यदि त्यसो हुन गयो भने देशलाई ठूलो आर्थिक नोक्सानी हुने देखिन्छ।”

खपत क्षमताभन्दा बढी भएको पाँच हजार मेगावाट कसैले नकिन्ने हो भने प्रति मेगावाट २० करोडका दरले झण्डै दश खर्बको लगानी डुब्ने खतरा रहेको पाण्डेको धारणा छ।

जलविद्युतविद् पाण्डेका अनुसार प्रक्षेपण गरिएको उत्पादन क्षमताको आधा उत्पादन हुँदा पनि नेपालको ऊर्जा बजारलाई चाहिने भन्दा बढी बिजुली उपलब्ध हुन्छ। उनी भन्छन्, “नेपालको ९५ प्रतिशत घरमा बिजुली पुगेको तथ्यांक देखिए तापनि बिजुलीको आपूर्ति भरपर्दो छैन। अझै पनि देशले चार–पाँच महीना बिजुली भारतबाट आयात गर्नु परिरहेको छ।”

नेपालले उत्पादित बिजुली भारत र बंगलादेश निर्यात गर्न आवश्यक पहल नगरेको पाण्डेको भनाइ छ। देशभित्रै पनि बिजुलीको खपत बढाउन सरकार गम्भीर नभएको उनको आरोप छ। “उत्पादित बिजुलीलाई ग्रीडमा जोड्न प्रशारण लाइन चाहिन्छ तर प्रशारणलाइन लगायतका पूर्वाधान बनाउन सरकारको ठ्याम्मै केही पहल नै छैन,” उनले भने।

वार्षिक ४ लाख मेगावाट बिजुली व्यवस्थापन गरिरहेको भारतलाई नेपालको पाँच–दश हजार मेगावाट किन्न ठूलो समस्या नरहे पनि त्यो उद्देश्य सजिलै हासिल नहुने तर्क उनको छ।

मंगलबार, १० माघ, २०७९, २१:०२:५४ मा प्रकाशित
https://www.himalkhabar.com/news/134126